संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‍याएका १५ जनालाई सम्मान गरेको छ।

बोर्डले युवा तथा वरिष्ठ कलाकार, निर्माता क्षेत्रका व्यक्तित्व र प्राविधिकलाई आज ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको हो।

बोर्ड परिसर चाबहिलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल उपस्थित भएका थिए।

कार्यक्रममा कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ, तालिम तथा केन्द्रीय छनौट समिति लगायतका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।

सांगीतिक प्रस्तुति, राष्ट्रिय गान, मौनधारण तथा सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम औपचारिक र सफल रूपमा सम्पन्न गरियो।

कार्यक्रममा मन्त्री खरेलले नेपाली चलचित्र क्षेत्रलाई देशको सांस्कृतिक शक्ति र अन्तर्राष्ट्रिय पहिचानको माध्यमका रूपमा प्रस्तुत गर्दै, बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्व र क्षमतामाथि कुनै शंका नरहेको बताए।

उनले भने, ‘अध्यक्ष डिसीले उत्कृष्ट काम गरेर चलचित्र क्षेत्रको इतिहास रच्ने अपेक्षा सरकारको छ। उहाँको नेतृत्वमा क्षेत्रले नयाँ मोड लिनेमा म निश्चिन्त छु।’

कार्यक्रममा सम्मानित १५ जना व्यक्तित्वलाई मन्त्री खरेलद्वारा २० हजार नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो। पुरस्कृतहरूमा कलाकार, निर्देशक, सांगीतिक एवं प्राविधिक पक्षका योगदानकर्ता समेटिएका थिए।

सम्मानित हुनेमा कलाकार शिव श्रेष्ठ, सबिता गुरुङ, निर्देशक तीर्थ थापा, संगीतकार/गायक तथा निर्देशक यस कुमार, चलचित्र पत्रकार ध्रुव लम्साल, चलचित्र महोत्सव व्यवस्थापक रम्यता लिम्बू छन् । 

त्यस्तै निर्देशक सम्झना रौनियार, निर्माता/निर्देशक युवराज लामा, कलाका हेमन्त बुढाथोकी, निर्माता किशन पोखरेल, स्व. केशव भट्टराई (कलाकार-मरणोपरान्त), कलाकार नाजिर हुसेन, निर्देशक रिमेश अधिकारी, रंग संयोजक/प्राविधिक 

रेनीश फागो तथा गायिका अन्जु पन्त छन् ।