नायक अनमोल केसीले नयाँ फिल्मको वर्कसप सुरु गरेका छन् । उसो त, यसअघि एउटा फिल्म रिलिज भएको केही महिनासम्म अनमोल नयाँ फिल्मको काममा जोडिएका थिएनन् । तर, यसपटक भने अनमोल घरकै फिल्म भएकाले ‘बाटुलो जुन’को वर्कसप सुरु गर्दै व्यस्त बनेका छन् । 

द सुपर काजोल फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्मको केही दृश्यको छायांकन दशैं अगाडि भइसकेको छ । एक सातामा फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माता तथा निर्देशक भुवन केसीको छ । 

फिल्ममा अनमोलले मोडल प्रिन्सी खतिवडासँग जोडी बाँधेका छन् । वुझिएअनुसार, यसको निर्माणपक्षले दोस्रो चरणको सेड्यूलमा फिल्ममा समावेश २ वटा गीत खिच्नेछ । त्यसपछि, जाडो महिना सकिएलगतै बाँकी छायांकन सुरु गर्ने तयारी गरिएको छ । 

सरिन पोखरेल र सामिप्यराज तिमिल्सिनाले फिल्मको स्क्रिप्ट लेखेका हुन् । यसपटक, स्क्रिप्ट बलियो रहेकाले दर्शकले मन पराउने विश्वास भुवन केसीको छ ।