निर्देशक तथा संगीतकार टंक वुढाथोकीले आफूलाई हराउन धेरै जना लागिपरेको बताएका छन्। भोलिबाट प्रदर्शनमा आउने फिल्म ‘मन बिनाको धन’ रिलिजको एक दिन अगाडि उनले सो कुरा बताएका हुन्। 

बिहिबार सामाजिक संजालमा स्टाटस कोर्दै उनले लेखेका छन्–‘म हार्दैछु, मलाई हराउन धेरै लागे । सधैं लागे । ठिकै छ । सिनेमाघर सञ्चालकहरूले मन विनाको धनलाई नपत्याए पनि, हामीलाई हजुरहरुले पत्याउनु भएको छ । भोलिबाट प्रदर्शन हुने मन बिनाको धनको शो एकदमै कम दिने, कतिपय ठाउँमा नदिने निर्णयले दुख लागेको छ । म हार्दैछु, मसँगै अशोकले पनि हार्दैछन् । न्याय तपाइहरुकै हातमा ।’

मल्टिप्लेक्सहरुले यो फिल्मलाई निकै कम शो दिएका छन् । दुखलाग्दो कुरा के छ भने, यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले वितरण गर्दैछ । तर, एप्पलकै लाबिम मलमा यो फिल्मलाई शो नै छैन । एप्पलले आफूले वितरण गरेको फिल्म हलमा लागेकै दिन ‘द गलफ्रेन्ड’ नामक भारतीय  फिल्म समेत भित्राएको छ । तर, आफूले वितरण गरेको नेपाली फिल्मलाई शो दिन सकेको छैन ।