चलचित्र ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । 

सुदिप्ताको निर्देशन रहेको चलचित्र अगामी माघ २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण युनिटले बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

 चलचित्रमा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा फिल्ममा नायकद्धय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ । यही फिल्मबाट गायक समीर श्रेष्ठ चलचित्रको पर्दामा नायकको रूपमा उदाउँदै छन् ।

महिला केन्द्रित यो चलचित्रको फस्टलुकमा नायिका आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा उनी ‘रमी’ पात्रको भूमिकामा छिन् । उनीसँग जोडिएका पात्र र उनको कथाको वरिपरि यो चलचित्र बनेको छ ।

आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो फिल्ममा आर.पी प्रोडक्सन एसोसियट निर्माताको रूपमा छ । चलचित्रका निर्माता सागर लम्साल हुन् ।

चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।

शिशिर विशांखेको डीओपी रहेको फिल्ममा सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर, कातिक बरालको कोरियोग्राफी छ ।

यो फिल्मलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।