अभिनेता अनमोल केसीको ‘जेरी अन टप’लाई केन्द्रीय चलचित्र जाँच पास समिति (चलचित्र सेन्सर बोर्ड) ले २४ घण्टे स्पष्टीकरण सोधेको छ । उक्त चलचित्रलाई सेन्सर बोर्डले आफ्नो निर्देशन पालना नगरेको भन्दै मंगलबार स्पष्टीकरण सोधेको हो ।

चलचित्र सेन्सर बोर्ड अन्तर्गत रहेको चलचित्र अनुगमन समितिले चलचित्र ‘जेरी अन टप’ले  दिएको निर्देशनको जाँच गर्दा उलङ्घन गरेको पाइएपछि २४ घण्टे स्पष्टीकरण सोधिएको हो । 

बोर्डले चलचित्रको निर्माण संस्था अनन्या फिल्मस्को नाममा पत्र काट्दै स्पष्टीकरण सोधिएको चलचित्र सेन्सर बोर्ड सदस्य तथा अनुगमन समितिका संयोजक सम्पन्न श्रेष्ठले जानकारी दिए ।

‘अनुगमन गर्दा चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिको निर्देशन पालन नगरेको पाइएको छ । त्यसैले अहिले पत्र काटिएको हो’, संयोजक श्रेष्ठले भने ‘स्पष्टीकरण चित्त बुझ्दो नआए चलचित्रको सबैतिर प्रदर्शन रोकिनेछ ।’ चलचित्रले सेन्सर बोर्डले राख्न दिएको सन्देश नराखेको, काट्नु भनिएको दृश्य नकाटेको श्रेष्ठको भनाई छ । 

गत असोज ३१ गतेबाट प्रदर्शनमा आएको फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन् ।चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा खड्गीलगायत कलाकारहरूको अभिनय छ। फिल्म सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको हो ।