चर्चित टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’का दर्शक गत शुक्रबार निराश बने । नयाँ एपिसोडको पर्खाइमा रहेका दर्शकले उक्त दिन पुराना एपिसोडहरुका केही टुक्का जोडेको भाग हेर्न बाध्य भए । अर्थात हरेक शुक्रबार प्रसारण हुँदै आएको शोको नयाँ भाग गत शुक्रबार प्रसारण हुन सकेन । युट्युबमा कतिपय दर्शकले आफूलाई झुक्क्याइएको प्रतिक्रिया समेत दिएका छन् ।
‘कमेडी दरबार’को नयाँ भाग प्रसारण हुन नसक्नुको मुख्य कारण ‘ककाकिकी’ । ‘कमेडी दरबार’ टिम यतिबेला फिल्म निर्माणमा व्यस्त भएको कारण नयाँ भाग प्रसारण हुन नसकेको हो । फिल्मको छायाङ्कन पर्वतमा भैरहेको छ ।
फिल्म छायाङ्कनमा जानुअघि केही एपिसोडहरू स्टकमा खिचिएका थिए । तर, छायांकनको अवधि लम्बिएपछि र तयार एपिसोडहरू सकिएपछि गत शुक्रबार नयाँ एपिसोड आउन नसकेको हो । ‘कमेडी दरबार’ टिमले सामाजिक सञ्जालमार्फत केही परिस्थितिका कारण नयाँ एपिसोड ल्याउन नसकेको जानकारी दिँदै अबको शुक्रबारदेखि भने नयाँ एपिसोड प्रसारण हुने जनाएको छ ।
फिल्म ‘ककाकिकी’का निर्देशक बिक्की अग्रवाल हुन् । फिल्ममा तृप्ती नाडकर, रेखा थापा, दीया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकारको अभिनय छ ।






































