यहि कात्तिकको २१ गते शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मन बिनाको धन’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्मलाई हरेक उमेरका दर्शकले हेर्न पाउनेछन् । सेन्सरका हरेक कर्मचारीले बाल–गायक अशोक दर्जीको जीवनमा आधारित रहेर यो फिल्म तयार पारिएको भन्दै तारिफ गरेका थिए । फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
टंक वुढाथोकीको कथा र निर्देशनमा तयार भएको फिल्ममा शिवम् अधिकारीको लेखन छ । फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, वुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर वुढाथोकी, साम्राज्ञी थापा, बिना राउत लगायतका कलाकारहरूको अभिनय छ ।
टंक वुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन यो फिल्ममा छ ।
                    
                                        
                                                                                                
        








        




























