सिरह। यहाँका सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी दलित र विपन्न समुदायका भए पनि उनीहरूको विद्यायलमा नियमित उपस्थिति नदखिएपछि लहान–११ स्थित पिडरबोनी माध्यमिक विद्यालयले शैक्षिक जागरणको ‘घरदैलो’ अभियान सुरु गरेको छ । 

प्रधानाध्यापक र शिक्षकहरूको टोली अहिले दलित बस्तीमा पुगेर अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन प्रेरित गरिरहेको छ ।

प्रधानाध्यापक वीरेन्द्रकुमार यादवले विद्यालयको जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा अधिकांश  दलित समुदायका विद्यार्थीहरू बढी अनुपस्थित रहने गरेको पाइएपछि त्यसलाई सुधार गर्न यो अभियान थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानाध्यापक भएर आएको तीन महिनाको समयमा विद्यार्थी सङ्ख्या हेर्दा अधिकांश दलित समुदायका विद्यार्थीहरू रहेका पाइयो । चाहे अनुसारको शैक्षिक सुधार गर्न कठिनाइ भएपछि दलित बस्तीमा पुगेर त्यहाँका बालबालिकालाई नियमित विद्यालय पठाउन उत्पे्ररित गरिरहेका छौँ ।”

अभियानका क्रममा दलित बस्तीमा सामाजिक चेतनाको अभावका कारण बालबालिकाहरू विद्यालय पठाउन उत्सुक अभिभावक नपाइएको प्रधानाध्यापक यादवको भनाइ छ । समाजमा पछि परेका समुदायहरूलाई मुक्ति दिलाउने एक मात्र हतियार शिक्षा भएको भन्दै उहाँले सम्पूण सरोकारवालाहरूलाई चेतना अभिवृद्धि गर्नतर्फ अग्रसर भइदिन आग्रह गर्नुभयो । 

दैलोमा आएर नियमित विद्यालयमा विद्यार्थी पठाउन विद्यालयका प्रअ शिक्षकहरूले आएर दिएको जनचेतनाले अब नियमित विद्यालय पठाउने स्थानीय अभिभावक रामउद्गार मरिकले प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “निम्न वर्गका समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको महसुस पनि भयो ।”

दलित अगुवा तथा लेखक राजेश राम विद्रोहीका अनुसार मधेस प्रदेशका डुम र मुसहर समुदायका बालबालिकाहरू अझै पनि विद्यालयभन्दा टाढा रहेका छन् ।  दलित विद्यार्थीलाई विद्यालयमा नियमित गराउने सम्बन्धमा पिडरबोनी माविको प्रयासको प्रशंसा गर्दै उहाँले मधेस प्रदेशका डुम र मुसहर समुदायका बालबालिकाहरू अहिले पनि बाल श्रमिक र बालविवाहको जोखिममा रहेकाले यस्तै किसिमको जनचेतना सबै सामुदायिक विद्यालयले दलित बस्तीहरूमा फैलाउनुपर्नेमा जोड दिनुभयो ।

दलित विद्यार्थीलाई विद्यालयमा नियमित गराउन नगरले पनि चासो दिएको छ । त्यसका लागि नगरले यस वर्षदेखि दलित बालबालिकालाई निःशुल्क कपी–पेन्सिल वितरण र दलित बस्तीमा ४१ वटा ट्युसन कक्षा सञ्चालनको व्यवस्था गरेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । “पिडरबोनी विद्यालयले सुरु गरेको अभियानलाई हामी नगरका सबै ५९ सामुदायिक विद्यालयमा विस्तार गर्दैछौँ,” चौधरीले बताउनुभयो ।