अभिनेता विजय बरालले सहअभिनेता विपिन कार्कीसँगको सम्बन्धबारे भावुक अभिव्यक्ति दिएका छन् । ‘कबड्डी–५’ मा पहिलो पटक एउटै पर्दा साझा गरेपछि उनले पुराना सम्झनाहरू सार्वजनिक गर्दै सामाजिक सञ्जालमा मन छुने शब्द लेखेका हुन् ।

बरालले लेखेका छन्, “गुरुकुलको गेटमा बिपिन दाइले हाँस्दै भनेको त्यो वाक्य — ‘तिमी सँग टिकट किन्न पैसा छैन होला, जाउ... नाटक हेर, म छु’ आज पनि कानमा गुञ्जिरहन्छ । त्यो हाँसोभित्रको माया र सम्बन्ध अहिले ‘कबड्डी–५’ मा साकार भएको छ ।”

उनले मण्डला थिएटरमा बिताएका संघर्षका दिनदेखि ‘रसोमन’ नाटकसम्मको सहयात्रा सम्झिँदै भनेका छन्, “त्यो समय संघर्ष र सिकाइको सुन्दर अध्याय थियो । भूकम्पपछिका ती कठिन दिनहरूमा बिपिन दाइको ‘१ केजी मासु र रसबरी लिएर आउ है’ भन्ने माया अझै ताजा छ ।”

बरालका अनुसार गुरुकुलको होस्टलका रातहरू, साझा भोक, हाँसो र सपनाका ती क्षणले उनीहरूबीचको सम्बन्धलाई अझ गहिरो बनायो । “समयले दूरी ल्यायो, जिम्मेवारीले व्यस्तता, तर माया र आदर अझै उस्तै छ,” उनले लेखेका छन् ।

अन्त्यमा बरालले भनेका छन्, “आज पर्दामा सँगै उभिँदा लाग्छ — जब सम्बन्धमा भरोसा र मनमा प्रेम बाँकी रहन्छ, सपना साँच्चै पूरा हुन्छन् । लार्जुङ, मुस्ताङ हाम्रो यात्राको साक्षी हो — संघर्षदेखि सफलतासम्मको प्रतीक ।”

बरालको यो भावनात्मक लेखन अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ, जसले नेपाली रंगमञ्च र चलचित्रको गहिरो सम्बन्धलाई पनि उजागर गरेको छ।