सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर सिनेमा ‘भाइरल गोर्खे’को गीत सार्वजनिक भएको छ । ‘बतासले उडाइ लाग्यो’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो ।
गीतमा स्वर त्रिशला गुरुङ र दीपक लिम्बुको छ । संगीत रोहित शाक्यको छ । कुशुम गजमेरको शब्द छ । कोरियोग्राफी श्याम पट्टेलको छ ।
यो रिमेक हो । यसको ओर्जिनल भर्सनमा कुमार कान्छा र आशा भोस्लेको स्वर छ । संगीत रञ्जित गजमेरको छ । यो ‘चिनो’ फिल्मको गीत हो ।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय सौगात र सृष्टि छन् । प्रेममा रहेका उनीहरूको प्रेम सम्बन्ध र चञ्चलता देखाइएको छ । प्रेममा रहेको यो जोडी एकअर्काप्रति समर्पित रहेको देखाइएको छ । सुन्दर दृश्यको पृष्ठभूमिमा सौगात र सृष्टिको प्रेमलाई प्रस्तुत गरिएको छ ।
दुई दिनअघि यो सिनेमाको नयाँ पोस्टर सार्वजनिक भएको थियो । ‘गोर्खे भाईरल’ माघ १ गते रिलिज हुनेछ ।
‘भाईरल गोर्खे’ टिकटक, फेसबुक र युट्युबमा जसरी हुन्छ भाइरल हुने पछिल्लो ट्रेन्डलाई मुख्य कथा बनाएर बनेको सिनेमा हो ।
रोगकै रूपमा विकास भइरहेको यो ट्रेन्डलाई समाएर बनेको सिनेमाले समसामयिक र जल्दोबल्लो विषय उठान गरेको छ । त्यसैले यो सिनेमाले दर्शकको मन जित्नेमा निर्माण टिम ढुक्क छ ।
समसामयिक र घरघरको विषय भएकाले सिनेमा दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक निगम श्रेष्ठले बताएका छन् । कमेडी र ह्युमर पनि रहेकाले दर्शकका लागि सिनेमा पूर्ण प्याकेज भएको उनले बताए ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ ।
अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह -निर्माता शुभेच्छा पौडेल,भुवन अधिकारी र निखिल पौडेल हुन् ।कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुलक र केदार श्रेष्ठ रहेका छन ।
अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर,द्वन्द निर्देशक श्री श्रेष्ठ,एडिटर बन्देप्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन् ।






































