काठमाडौँ, २ कात्तिकः उज्यालोको पर्व तिहार हाम्रो घरआँगनमा आइसकेको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसङगीतको पनि आफ्नै विशेषता छ । ती गीतसङ्गीतमा अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ ।
चलचित्र ‘स्वर्ग’मा समावेश ‘तिहारै आयो लौ झिलीमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत हुनुभएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिनुभएको छ । यादव खरेलको रचना गर्नुभएको गीतमा शम्भुजीत बाँस्कोटाले सङ्गीत सृजना गर्नुभएको छ ।
‘दियो बाली साँझको’ गीत उत्तिकै लोकप्रिय छ । चलचित्र ‘चिनो’मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गर्नुभएको छ । कुशुम गजमेरले शब्द रचना, रञ्जित गजमेरले सङ्गीत सृजना गर्नुभएको गीतमा गायिका आशा भोस्लेले स्वर दिनुभएको छ । निर्देशक तुलसी घिमिरेले चलचित्र तिहारको गीत र प्रसङ्गलाई कथावस्तुअनुसार नै प्रस्तुत गर्नुभएको छ ।
मनिला सोताङले गाउनुभएको चलचित्र ‘अन्याय’मा समावेश ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो । गीतकार रत्नशमशेर थापाले शब्द रचना गर्नुभएको गीतमा रञ्जित गजमेरले सङ्गीत सृजना गर्नुभएको छ । अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायतका कलाकारहरू प्रस्तुत हुनुभएको गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्छ ।
चलचित्र ‘विजय पराजय’मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’लगायतका गीतहरू नै तिहारमा देउसीभैलोसँगै स्रोताको रोजाइमा पर्ने गरेका छन् । नेपाली संस्कृतिलाई समेटेर गीतहरू अझै लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको गायक तथा सङ्गीतकार अर्जुन पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो । गीतिसङ्ग्रहको तुलनामा चलचित्रका गीतहरू बढी प्रचार हुने गरेका छन् । त्यहीँ कारण तिहारमात्र नभई दसैँ, होलीलगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन् ।”
गायक तथा सङ्गीतकार पोखरेलले उल्लेखित गीतहरू चाडपर्वमा मात्र गुञ्जिने र लागत खर्च बढी हुने भएकाले नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्ने बताउनुभयो । पछिल्लो समय पनि चाडपर्व लक्षित गीतसङ्गीत नबन्ने गरेका होइनन् । तर सङ्ख्या निकै न्यून छ । पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेकाले पछिल्लो समय बनेका गीतसङ्गीतले पुराना कालजयी गीतलाई विस्थापित गर्न सकेका छैनन् ।