भारतीय टेलिभिजन इतिहासमा अमर बनेको महाभारत टेलिश्रृंखलामा कर्णको भूमिका निभाएर चर्चामा आएका अभिनेता पंकज धीरको निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार धीरको निधन बुधबार बिहान भएको हो। ६८ वर्षीय अभिनेता केही वर्षयता क्यान्सरबाट पीडित थिए। रोग गम्भीर बन्दै गएपछि केही महिनाअघि उनको ठूलो शल्यक्रिया गरिएको थियो। तर स्वास्थ्यमा सुधार नआएपछि अन्ततः उनले ज्यान गुमाए।

सन् १९८८ मा बी.आर. चोपडा निर्देशित टेलिश्रृंखला महाभारत प्रसारण भएपछि धीरको अभिनयले दर्शकको मन जितेको थियो। उनले कर्णको भूमिकामा देखाएको अनुशासन, गम्भीरता र भावनात्मक प्रस्तुतीले उनलाई टेलिभिजनको इतिहासमै अमर बनायो।

धीरले चन्द्रकान्ता जस्ता अन्य चर्चित टेलिश्रृंखलामा पनि अभिनय गरेका थिए। पञ्जाबमा जन्मिएका उनी केही बलिउड चलचित्रहरूमा समेत देखिएका भए पनि टेलिभिजनमै आफ्नो बलियो छवि बनाउन सफल भएका थिए।

उनको अन्तिम संस्कार बुधबार नै मुम्बईको विले पार्लेस्थित श्मशान घाटमा गरिएको छ ।