अभिनेता दिपकराज गिरी र रास्वपा नेता तथा पूर्वसांसद असिम शाहबीच सहकार्य हुने भएको छ । चलिचित्र निर्देशक समेत रहेका शाह र गिरीबीच प्रारम्भिक रुपमा कथामाथि छलफल भइरहेको छ ।
यस विषयमा शाहले फेसबुकमार्फत् सहकार्य हुन लागेको जानकारी दिइसकेका छन् । हाल अमेरिकामा रहेका गिरीले पनि आफूहरुबीच सहकार्य हुन बताए । उनले भने, ‘एउटा चलचित्र गर्ने कुरा भएको छ ।’
तर, प्रारम्भिक चरणमै आफूहरु रहेकाले समय लाग्ने गिरीले बताए । उनले थपे, ‘छक्कापन्जा ६ पछि नै काम हुन्छ होला । अहिले कथाको बारेमा कुरा भइरहेको छ । समय त लाग्ला ।’
गिरी आउँदो वर्षको दशैंमा ‘छक्कापन्जा ६’ लिएर आउने तयारीमा छन् । यसको मतलव शाह र गिरीबीचको सहकार्य त्यसपछि मात्रै हुनेछ । शाहले यसअघि ‘दुई रुपैयाँ’ नामक चलचित्र निर्देशन गरिसकेका छन् । जेनजी आन्दोलनपछि शाह लगायत रास्वपा सांसदहरुले पदबाट राजीनामा दिएका थिए ।