गत फुलपातिबाट प्रदर्शनमा आएका चलचित्रहरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले अपेक्षित कमाइ गर्न सकेनन् । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यी तीन चलचित्रले १३ दिनमा १२ करोड ५७ लाखको व्यापार गरेको छ ।

‘बलिदान’ले ४ करोड ८० लाख, ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ३२ लाख र ‘माइतीघर’ले ३ करोड ४४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेका छन् । यस वर्षको दशैंमा ठूला बजेटको चलचित्रहरु प्रदर्शन भए पनि अपेक्षाकृत व्यापार गर्न भने सकेनन् । बिहान ५ बजेदेखि मध्यरातिसम्मका शोहरु राखिए पनि चलचित्रहरुले अपेक्षाकृत ओपनिङ गर्न सकेनन् ।

गत वर्ष प्रदर्शन भएका ‘१२ गाउँ’, ‘छक्का पन्जा ५’ र ‘ज्वाइँ साब’ले ४० करोड कमाएको थियो । यसपटक भने तीन चलचित्रकै कलेक्सनले ४० करोडको आँकडा छुन नसक्ने देखिन्छ । तर, अझैं पनि समय रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको अभिनेता समीर भट्टले बताए ।

हल भिजिटमा निस्किेका उनले संचारकर्मीहरुसँग कुरा गर्दै व्यापार अझैं बढ्ने आशा व्यक्त गरे ।

उनले भने, ‘५१ दिनसम्म चल्छन् चलचित्रहरु । ५१ औं दिनमा पनि पाँच–छ लाखको व्यापार गरिरहेको हुन्छ । भनेपछि हामी अहिले १३ दिनमा छौं । त्यही भएर अहिले नै यति कमायो, उति कमायो भनेर मूल्यंकन गर्न हतारो हुन्छ । पूर्ण कलेक्सन जब आउँछ, अनि मात्रै स्पष्ट चित्र आउँछ।’

दिनप्रतिदिन दर्शकको माया बढ्दो क्रममा रहेकाले ‘बलिदान’ लामो रेसको घोडा हुनसक्ने बताए । ‘१२ गाउँको तुलनामा बलिदानले कम माया पाएको हो ?’ भन्ने संचारकर्मीको प्रश्नमा भने बक्स अफिसको हिसाबले मात्रै दर्शकको मायाको मूल्यांकन गर्न नमिल्ने समीरले बताए ।

आफूले अहिले दर्शकबाट पाइरहेको माया अमूल्य रहेको बताए ।

उनले भने, ‘१२ गाउँमा भन्दा बढी माया बलिदानमा पाएको छु । चलचित्र हेरेर दर्शकहरु हुनुभएको छ । एक्सन चलचित्रमा दर्शकहरु रुनु भनेको धेरै ठूलो कुरा हो । कतिपयले एक्सन राम्रो भएको छ भन्नुभएको छ ।’

गत वर्ष ‘१२ गाउँ’ले २० करोड ग्रस कलेक्सन गरेको थियो । अहिले ६ करोडमाथिको बजेटमा बनेको ‘बलिदान’लाई भने हलहरुबाटै लगानी उठाउन गाह्रो भइरहेको परिस्थिति छ । समीरको आउँदो वर्षको फुलपातिमा ‘१२ गाउँ २’ प्रदर्शन हुने बताइएको छ ।