कार्तिक १४ गते प्रदर्शनमा आउने चलचित्र ‘परान’को टिजर सार्वजनिक भएको छ । वरिष्ठ अभिनेता निर शाहको जन्मदिनको अवसर पारेर आइतबार चलचित्रको पोएटिक टिजर सार्वजनिक गरिएको हो । टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ ।

कवि पराजुलीका शब्दहरूमा चलचित्रका मुख्य कलाकार निर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । 

कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो बढाइयो एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म सोही प्रकारले साथ दिनुपर्ने कुरा व्यक्त भएको छ । 

बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको यो चलचित्रको टिजरमा शाहका अलवा मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द तथा अन्जना बराइली लगायत पनि अटाएका छन् । 

गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको चलचित्रमा सक्किगोनीका कलाकार दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा निर्माण भएको चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा लगायत कलाकारको अभिनय छ ।