चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक भएको छ । अनमोल केसीको मूख्य भूमिका रहेको चलचित्रको टिजर आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो।
ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका निर्देशक सुयोग गुरुङ, चलचित्रका दुई नायिका जसिता गुरुङ र आँचल शर्मा, भुवन केसी, उषा खड्गीलगायतका कलाकारहरु उपस्थित थिए। तर कार्यक्रममा चलचित्रका मुख्य अभिनेता अनमोल केसी भने अनुपस्थित रहे। स्वास्थयमा समस्या आएपछि उनी कार्यक्रममा आउन नसकेको अनमोल पिता भुवन केसीले कार्यक्रममा बताए।
कार्यक्रममा बोल्दै भुवनले भने,‘अनमोललाई ज्वरो आएको छ । उसलाई बिहीबार अस्पताल पनि लगिएको थियो । अझै ज्वरो घटेको छैन ।’
सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथा देखाइएको छ। चलचित्रमा भुवन केसीलाई अनमोलको बुवा र उषा खड्गीलाई अनमोलको आमाको भुमिकामा प्रस्तुत गरिएको छ।
चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्गीको अभिनय छ । चलचित्रको पटकथा हेमराज बीसीले लेखेका हुन् । सरोज न्यौपानेको प्रस्तुति रहेको चलचित्रमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता छन् । चलचित्रको छायाङ्कन सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौँमा गरिएको छ। चलचित्र यहीँ असोज ३१ गतेबाट प्रदर्शन हुदैछ।