फूलपातीको दिनदेखि प्रदर्शनमा आएका फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुर’को ८ दिनको व्यापारिक आँकडा सार्वजनिक भएको छ । बुधबार चलचित्र विकास बोर्डले असोज १३ गतेदेखि २० गते राति ११ः५५ बजेसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो । ८ दिनमा तीन फिल्मले ९ करोडभन्दा बढीको ग्रस कमाइ गरेका छन् ।

तीन फिल्ममध्ये सबैभन्दा बढी कमाइ ‘बलिदान’ले गरेको छ । यसले १ लाख १९ हजार ५ सय ६१ वटा टिकट बिक्री गर्दै ३ करोड ७५ लाख ५३ हजार २ सय ५१ रुपैयाँ कमाएको छ । ‘हरिबहादुरको जुत्ता’ कमाइको हिसाबले दोस्रो स्थानमा छ । ९० हजार ९ सय ४७ वटा टिकट बिक्री गर्दै यो फिल्मले ३ करोड २१ लाख ७० हजार १ सय ६० रुपैयाँ कमाइ गरेको छ ।

त्यस्तै, ‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६ सय ९२ रुपैयाँ कमाएको छ । यसको ८ दिनमा ६८ हजार ३२ वटा टिकट बिक्री भएको बोर्डले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । बोर्डका अनुसार यो व्यापारिक रिपोर्ट वार्षिक अध्यावधिक भएका हलहरुको हो । यसबाहेक कुनै स्थानमा फिल्म प्रदर्शन भएको पाइएमा कारबाही गरिने बोर्डले जनाएको छ ।

गत वर्षको दशैंको तुलनामा यसपालि दशैंमा नेपाली फिल्मले अपेक्षित व्यापार गर्न सकेको देखिँदैन । अघिल्लो दशैंमा चार फिल्मले ४५ करोडभन्दा बढीको व्यापार गरेका थिए । तर, यसपालि दशैं सकिँदासम्म तीन फिल्मले १० करोड पनि जोड्न सकेका छैनन् । यस वर्षको दशैंमा फिल्मको व्यापार अपेक्षित नहुनुको मुख्य कारण जेनजी आन्दोलनपछि विकसित घट्नाक्रमलाई मानिएको छ ।