चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । बोर्डले हाल प्रदर्शनरत तीन फिल्म बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताको कारोबार विवरण सार्वजनिक गरेको हो । 

असोज १३ गतेदेखि असोज २० गते मध्यरातसम्मको बक्स अफिस विवरणअनुसार सर्वाधिक कमाइ बलिदानले गरेको छ । उक्त फिल्मले ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ । 

यसैगरी हरिबहादुरको जुत्ताले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कलेक्सन गरेको छ भने माइतीघरले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ सङ्कलन गरेको बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ।

दसैँका लागि भन्दै फूलपातीदेखि ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका थिए । चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् । 

दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।     

यसैगरी चलचित्र ‘माइतीघर’ केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत  कलाकारले अभिनय गरेका छन् ।