ऋषभ शेट्टीद्वारा अभिनीत र निर्देशित ‘कान्तरा च्याप्टर १’ले लोभै लाग्दो कमाइ गरिरहेको छ । फिल्मले अहिलेसम्म २९० करोड भारु कमाएको छ । छैटौँ दिनमा फिल्मले ३३ करोड ५० लाख भारु कमाएको छ । फिल्मको कमाई हेर्दा यो छिटै नै ३०० करोड क्लबमा सामेल हुने देखिन्छ ।

भारतीय बक्स अफिसमा यतिबेला कान्तरा च्याप्टर १ को दबदबा छ । यस्तोमा अन्य फिल्म दबाबमा आएका छन् । जान्हवी कपूर र वरुण धवनको अभिनय रहेको ‘सनी संस्कार की तुलसी कुमारी’को कलेक्सनमा व्यापक कमी आएको छ । फिल्मले मंगलबार छैटौँ दिनमा ३ करोड भारु मात्रै कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन ३६ करोड २५ लाख भारु भएको छ ।

दक्षिण भारतीय अभिनेता पवन कल्याणको फिल्म ‘ओजी’ १३ दिनदेखि सिनेमाघरमा प्रदर्शनमा छ । मंगलबार १३ औँ दिनमा फिल्मले १ करोड ४०  लाख भारु मात्रै कमायो । फिल्मको अहिलेसम्मको कमाई १८५ करोड ८५ लाख भारु पुगेको छ । फिल्मले राम्रो व्यापार गरिरहेको थियो । तर ‘कान्तरा च्याप्टर १’ हलमा आएपछि यसका दर्शक घटिरहेका छन् ।

लाखमा समेटियो ‘जोली एलएलबी ३’

अक्षय कुमार र अर्शद वारशीको मुख्य अभिनय रहेको फिल्म ‘जोली एलएलबी ३’को कमाई लाखमा समेटिएको छ । फिल्म रिलिज भएको १९ औँ दिन मंगलबार यसले ७५ लाख मात्र कमायो । योसँगै फिल्मको कूल कलेक्सन १०९ करोड ४० लाख भारु पुगेको छ ।