दशैंको पूर्णिमाको अवसरमा बहुप्रतिक्षित नेपाली फिल्म ‘मैझारो’को दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले यो गीत रिलिज गरेको हो।

राजेश पायल राई र मेलिना राईको स्वरमा रहेको गीतमा पदम साधना कुलुङले शब्द लेखेका छन् भने संगीत तोरेम्पाहाङ राईको रहेको छ। गीत ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियोमा दुई जोडी कलाकार दयाहाङ राई र दीया पुन, साथै धिरज मगर र मिरुना मगरले परम्परागत साकेला नृत्यमा छमछमी नाचेका छन्। पूर्वी नेपालका राई समुदायको सांस्कृतिक पर्व साकेलालाई उत्सवमय रंगमा प्रस्तुत गरिएको यस गीतले मौलिकपन झल्काएको छ।

फिल्मको कथा लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धमा आधारित छ, जसअनुसार गीतलाई कथा अनुरूप मिलाइएको निर्माण पक्षले जनाएको छ। गीत सार्वजनिक भएको केही घण्टामै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया र प्रशंसा मिलिरहेको छ।

यसअघि सार्वजनिक गरिएको पोस्टर, टिजर र ‘तिमीलाई के थाहा सानु’ गीतले नै दर्शकमाझ ‘मैझारो’प्रतिको उत्साह बढाइसकेको छ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा बनेको फिल्मको निर्देशन विल्सन विक्रम राई (तक्मे बुढा)ले गरेका हुन्। यसमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, कविता आलेलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत, छायांकन सौरभ लामा, वितरण आरआर फिल्म्स र डिजिटल अधिकार ओएसआरले लिएको छ। ‘मैझारो’ आगामी कात्तिक ७ गतेबाट अल नेपाल प्रदर्शनमा आउनेछ।