भारत— सवाई मानसिंह (एसएमएस) अस्पतालको ट्रमा सेन्टरमा आइतबार राति भएको आगलागीमा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको पुष्टि भएको छ।
दुर्घटना अस्पतालको न्युरो आइसीयू नजिकै, ब्लड सेम्पल ट्युब र अन्य मेडिकल सामग्री राखिएको क्षेत्रमा विद्युत् सर्ट सर्किट भएपछि सुरु भएको हो। आगो तीव्र गतिमा फैलिएपछि गम्भीर बिरामीहरूको बचाउ गर्न नसकिएको एक वरिष्ठ चिकित्सकले जानकारी दिए।
साँझपख सुरु भएको आगलागीले एकाएक पुरै ट्रमा सेन्टरलाई धुवाँले ढाकेपछि आइसीयूमा रहेका बिरामी अक्कल झुक्कल निकाल्न सकिएको थियो। घटनाको समयमा न्युरो आइसीयूमा ११ र छेउको अर्को आइसीयूमा १३ बिरामी उपचाररत थिए। तर आगोको चपेटामा परेका ८ जनाको मृत्यु भएको छ।
घटनापछि अस्पताल प्रशासनले छानबिनका लागि ६ सदस्यीय समिति गठन गरेको जनाएको छ। सो घटनाबारे पीडित परिवार आक्रोशित छन्।