काठमाडौं— परम्परा, संस्कार र सामूहिकतामा आधारित नेपालीको सबैभन्दा ठूलो चाड दशैं आधुनिक प्रविधिको विस्तारसँगै आफ्नो मौलिकता गुमाउँदै गएको छ। विगतका वर्षहरूमा जसरी छतमा चंगा उडाउने, गाउँका पिङ खेल्ने, घर लिपपोत गर्ने र सामूहिक पूजाआर्जना गर्ने चलन थियो, अहिले ती प्रथाहरू झन्झन् ओझेलमा पर्दै गएका छन्।
सहर मात्र होइन, गाउँघरमा समेत छतहरू सुनसान देखिन थालेका छन्। न बालबालिकाले चंगा उडाउँछन्, नटोलमा पिङ गाडिएको देखिन्छ। घरका जेठा सदस्यबाट खाममा पैसा थाप्ने चलनलाई अहिले डिजिटल वालेटले विस्थापित गर्न थालेको छ।
सिन्धुपाल्चोक घर भई भत्तपुर बस्ने ६५ वर्षीय शिवप्रसाद भन्छन्, “हामी त चंगा उडाएर, पिङ खेल्दै, मन्दिर जाँदै रमाइलो गर्थ्यौं। अहिलेका केटाकेटी त मोबाइलमै रमाउँछन्।” उनका अनुसार, प्रविधि आएपछि सुविधा त भयो, तर रमाइलो हरायो।
सामाजिक सञ्जाल, भिडियो गेम र अनलाइन मनोरञ्जनमा केन्द्रित पुस्ताले दशैंको गहिरो सांस्कृतिक महत्वभन्दा पनि 'विकेन्ड' वा 'फेस्टिव अफर' को रूपमा पर्व हेर्न थालेका छन्। यसले संस्कार, सम्बन्ध र सामूहिकताको बिन्दुहरू कमजोर बनाइरहेको समाजशास्त्रीहरू बताउँछन्।
सांस्कृतिक विषयमा अनुसन्धान गर्दै आएका डा। सविता उप्रेती भन्छिन्, “दशैं केवल मासु र टीका होइन, यो सिंगो संस्कृतिको वहक हो। प्रविधिसँगै हाम्रा मूल्य र परम्परा हराउँदै जानु चिन्ताजनक अवस्था हो।”
उनका अनुसार पर्वलाई समयानुकूल बनाउने प्रयास सकारात्मक हो, तर त्यो प्रयास परम्परालाई विस्थापित गरेर होइन, जगेर्ना गरेर हुनुपर्छ।
विगतमा मन्दिरहरूमा लामो लाइन लाग्ने, घरघरमा देवीको पूजा हुने, र एक–आपसमा भेटघाट हुने माहोल अहिले अधिकांश घरमा मोबाइल स्क्रिनमा सीमित देखिन्छ। पुराना पुस्ताले टीकाको घडीमा पुराना सम्झना दोहोर्याउँछन् भने नयाँ पुस्ता सेल्फी खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नमा व्यस्त देखिन्छ।
स्थानीय तह र शिक्षण संस्थाहरूले बालबालिकामा संस्कृति र चाडपर्वप्रतिको समझदारी बढाउने खालका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जानकारहरूको सुझाव छ। पार्बती साउद