भोलिबाट रिलिजमा आउन लागेको फिल्म ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ । सुजन चापागाँइको संगीत रहेको गीतमा सुजन र भूषण खतिवडाको स्वर, हर्क साउदको शब्द छ ।
सार्वजनिक गीतको भिडियोमा घना जंगलको बीचमा आदिवासी बस्ती देखाइएको छ । जहाँ, आदिबासीहरुको बीचमा फिल्मका मुख्य नायक समीर भट्टले डान्स गरेका छन् । उनी, त्यहाँ किन र कसरी पुगे भन्ने कथा रोचक हुने देखिन्छ ।
सुनिल क्षेत्रीको कोरियोग्राफीमा यो गीतको भिडियो तयार भएको हो । भिडियोमा सुनिल र फिल्मका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ ।
सेनले फिल्ममा आदिवासीहरूको मुखियाको भूमिका निर्वाह गरेका छन् । आसुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा पवन ब्राडफोर्डको लगानी छ । प्रेम पुरी फिल्मका कार्यकारी निर्माता हुन् ।
यो फिल्ममा समीरको साथमा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त वुढाथोकी, प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय छ ।चलचित्र जाँच पास समितिबाट ‘पिजी’ सर्टिफिकेट पाएको यो फिल्मको टिकट बूकिङ खुल्ला भइसकेको छ ।