असोज १३ गते अर्थात बडादशैँको फूलपातिको दिनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ प्रचार प्रसारको व्यस्ततामा रहेको छ। चलचित्रका प्रचार सामग्रीबाट प्राप्त प्रतिक्रियाले उत्साहित रहेको चलचित्रको टिमले बिहिबार एक पत्रकार भेटघाट कार्यक्रम राखेको थियो। उक्त अवसरमा चलचित्रका मुख्य कलाकार, निर्माता र निर्देशकको उपस्थिति रहेको थियो।
चलचित्रको ट्रेलरबाट नै चलचित्र अहिलेको जेन-जी पुस्ताको आन्दोलन र मागसंग मिल्ने केहि झल्को प्रस्तुत गरिएको थियो। सोहि कारण पनि यो बिषय आयोजित पत्रकार भेटघाट कार्यक्रममा चासोको साथ सोधिएको थियो। हरिवंश भन्छन् – ‘ यो कथा करिब १ बर्ष अगाडी तयार भएको हो। अहिलेको युवा पुस्ताले जे माग राखेर आवाज उठाउनु भयो, त्यही नै हाम्रो चलचित्रको पनि कथा हो। ‘
उनी अगाडी थप्छन्, ‘हाम्रो चलचित्र केहि समय अगाडी नै तयार भएर, सेन्सर समेत पास भैसकेको छ। यो चलचित्रलाई दुई महिनापछि प्रदर्शन गरेको भए दर्शकहरुले ‘जेन–जी’ पुस्ताले उठाएको विषयमा चलचित्र बनाएछन् भनिन्थ्यो होला, तर यही असोज १३ गतेदेखि नै प्रदर्शन हुने भएकाले हामीले उठाएको विषय हरेकको मनमा रहेछ भन्ने प्रमाणित हुने भएको छ ।’ उनले चलचित्रको कन्टेन्ट र जेन – जी पुस्ताको आवाज मिल्नु संयोग भएको बताए।
उनले चलचित्र कमेडी मात्र नभएको उल्लेख गरे। हामी चलचित्रको ट्रेलर रमाइलो ढंग बाट काटेका छौ तर चलचित्र पूर्ण कमेडी मात्र हैन। दर्शकले पनि ट्रेलर हेरेपछि यो चलचित्रले केहि गहन बिषय उठाएको महसुस गरेको हरिवंशको बुझाई रहेको छ।
जेन- जी आन्दोलनमा पनि एउटा जुत्ता सांकेतिक प्रतिकको रुपमा बनेको थियो र यो चलचित्रमा पनि जुत्ता सांकेतिक रुपमा रहेको छ । यो संयोग आफैमा गज्जबको बनेको छ। कलाकार आचार्यका अनुसार जेन–जी पुस्ताले उठाएको भ्रष्टाचारको विषयमात्र होइन नेपोटीजम अर्थात नातावादको कुरालाई पनि चलचित्रले शसक्त ढंगले चित्रण गरेको छ ।
दीपेन्द्र के खनालद्वारा निर्देशित यो फिल्ममा हरिवंश आचार्यसहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्म सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाद्वारा छायांकन गरिएको यो फिल्मका सम्पादक नकुल खड्का हुन् । यो फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको सङ्गीत निर्देशन रहेको छ ।