चर्चित अभिनेत्री ट्विंकल खन्ना र काजोलको संयुक्त टक शो ‘टू मच’को पहिलो एपिसोड प्राइम भिडियोमा सार्वजनिक भइसकेको छ । उक्त एपिसोडमा बलिउडका दुई सुपरस्टार आमिर खान र सलमान खान अतिथिको रूपमा उपस्थित भएका थिए । शोमा दुवैले आफ्नो करिअर, नीजि जीवन र आपसी मित्रताको बारेमा खुलेर कुरा गरेका छन् ।
आमिरले सलमानसँग सुरूमा राम्रो बोन्डिङ नभएको खुलासा गर्दै भनेका छन्, ‘मलाई त्यसबेला लाग्थ्यो कि सलमान समयमा आउँदैनन् । ‘अन्दाज अपना अपना’को छायांकनमा हामीलाई निकै समस्या हुन्थ्यो । त्यसबेला सलमान निकै जजमेन्टल थियो । म पनि हार्ड स्वभावको थिएँ । रीना दत्तसँग डिभोर्सपछि एक डिनरको क्रममा म र सलमान राम्रोसँग कनेक्ट भएका थियौं ।’
उक्त शोमा सलमानले पनि आफ्ना विगतका सम्बन्धहरू र त्यसको अन्त्य कसरी भयो भन्ने बारेमा कुरा गरेका छन् । उनी भन्छन्, ‘जब एउटा पार्टनर अर्कोले भन्दा धेरै प्रगति गर्छ, त्यतिबेला मतभेदहरू देखा पर्न थाल्छन् । त्यतिबेला असुरक्षा हुन थाल्छ । दुवैले एकसाथ प्रगति गर्नुपर्छ । दुवै एकअर्काको पीठबाट हट्नुपर्छ । म त्यही विश्वास गर्छु ।’
५९ वर्षका अविवाहित सलमानले पिता बन्ने इच्छा पनि व्यक्त गरेका छन् । ‘बच्चा एक दिन अवश्य हुनेछ, चाँडै हुनेछ । समय आउन दिनुस् । बच्चा विस्तारै नै हुने हो,’ उनले भने । केही वर्षअघि उनले एक अन्तर्वार्तामा आफूलाई बच्चाको सौख रहेको तर श्रीमतीको चाहना नभएको बताएका थिए । उनी सरोगेसीको माध्यमबाट पिता बन्ने सोचमा रहेको बताइन्छ ।