नायिका स्वस्तिमा खड्काले आफूलाई सबैभन्दा गाह्रो समय नै फिल्म साइन गर्न हो जस्तो लाग्ने बताएकी छिन् । फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रचारका क्रममा उनले भनिन्–‘हामी छायांकन, प्रमोशन र रिलिजको बेलामा निकै नै दौडधूप गछौं । मनमा डर पनि लाग्छ । तर, यो केही हो जस्तो मलाई लाग्दैन । सबैभन्दा गाह्रो भनेको फिल्म साइन गर्न हो ।’

कुनै पनि कलाकार एउटा विन्दुमा पुगेपछि मानिसमा आशा बढ्ने भन्दै उनले एउटा फिल्म कमजोर हुँदा त्यसपछिको प्रोजेक्टलाई घाटा लाग्ने तर्क गरिन् । स्वस्तिमाले भनिन्–‘साइन गर्ने बेलामा निकै गाह्रो हुन्छ । जुनसुकै प्रोजेक्ट गर्दा पनि दोधार हुन्छ । गरौं कि नगरौँ भन्ने लाग्छ ।’

स्वस्तिमाले आफूले कम फिल्म गर्नुको विषयमा भनिन्–‘नेपालमा फिल्म असफल हुनु, कमजोर हुनु नायिकाका लागि त्यति ठूलो कुरा होइन जस्तो लाग्छ । किनकी, नायिकालाई यहाँ त्यति महत्व दिइँदैन । तर, महत्व दिइनुपर्छ भन्ने मलाई लाग्छ । कुनै पनि नचल्दा वा कमजोर हुँदा विश्वसनियता गुम्छ भन्ने कुरामा म बढी ध्यान दिन्छु ।’

स्वस्तिमाले दर्शकबाट यसको फिल्म यस्तै त हो नी भन्ने प्रतिक्रिया आयो भने विश्वसनियता हराउने तर्क गर्दै आफू यसमा सजग रहेको सुनाइन् । यसैले, फिल्म साइन गर्दा आफूले धेरै सोच्ने गरेको उनले बताइन् ।