न्युयोर्क— संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर फर्किंदै गरेका फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन एक अनौठो परिस्थितिमा परे । म्याक्रोन फ्रान्सेली दूतावास जान लाग्दा उनलाई सडकमा रोकियो, र उनी पैदलै हिँड्न बाध्य भए ।
म्याक्रोनले राष्ट्रसंघमा बोल्दै फ्रान्सले प्यालेस्टाइनलाई औपचारिक मान्यता दिने घोषणा गरेका थिए । त्यसपछि उनी निर्धारित कार्यक्रमअनुसार दूतावास जान गाडी चढे । तर ठीक त्यही बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मोटरकेड आउने भएपछि सुरक्षा सतर्कता कडाइ भयो, र सबै सवारी साधन रोकिए ।
अमेरिकी सुरक्षाकर्मीहरूले म्याक्रोनको गाडीलाई पनि रोकेपछि, उनले गाडीबाट ओर्लिएर पैदलै हिँड्ने निर्णय गरे । सडकपेटीबाट हिँडिरहेका म्याक्रोनलाई न्युयोर्कका प्रहरीले सम्मानपूर्वक अभिवादन गरेका थिए ।
एक प्रहरी अधिकारीले भने, 'माफ गर्नुहोस्, राष्ट्रपति ज्यु, अहिले सबै कुरा रोकिएको छ ।'
म्याक्रोनले त्यसपछि आफ्नो मोबाइल निकालेर राष्ट्रपति ट्रम्पलाई फोन गरे र हाँस्दै भने, “तपाईंका कारण म अहिले सडकमा रोकिएको छु ।” फोन वार्तामा दुई नेताबीच केही अन्तर्राष्ट्रिय विषयमा कुराकानी पनि भएको बताइएको छ ।
सडक खुल्दा पनि केवल पैदल यात्रुका लागि मात्र खुल्यो, जसले गर्दा म्याक्रोन झन्डै आधा घन्टा म्यानह्याटनको गल्लीमा हिँड्नुपर्यो । हिँड्दाहिँड्दै उनले बाटोमा भेटिएका स्थानीय बटुवासँग गफ समेत गरेका थिए ।