अमेरिकी कमेडियन जिमी किमेलको लोकप्रिय ‘लेट-नाइट’ टक शो निलम्बनपछि मंगलबारदेखि पुनः प्रसारणमा आउने भएको छ। दक्षिणपन्थी इन्फ्लुएन्सर चार्ली कर्कको मृत्युसँग जोडेर गरेको ठट्टाका कारण उनको कार्यक्रमलाई निलम्बन गरिएको थियो।

जिमी किमेलको कार्यक्रम प्रसारण गर्ने अमेरिकी नेटवर्क एबीसीको स्वामित्वमा रहेको डिज्नीले सोमबार ‘केही टिप्पणीहरू अनुपयुक्त र असंवेदनशील’ भएकाले किमेललाई निलम्बन गर्ने निर्णय गरिएको स्पष्टिकरण दिएको थियो । डिज्नीले ‘जिमीसँग विगत केही दिनदेखि भएको कुराकानीपछि मंगलबारदेखि शो फर्काउने निर्णयमा पुगेको’ जानकारी दिएको छ।

किमेलको निलम्बन अमेरिकी संघीय टेलिभिजन नियामकले एबीसीको प्रसारण इजाजतपत्र खारेज गर्ने धम्की दिएपछि भएको थियो, जसले गर्दा देशभर वाक् स्वतन्त्रताबारे बहस चुलिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमेलको निलम्बनलाई स्वागत गर्दै नकारात्मक कभरेज गर्ने केही टेलिभिजन नेटवर्कको इजाजतपत्र खारेज गर्नुपर्ने सुझाव दिएका थिए। यद्यपि, सोमबार ह्वाइट हाउसमा पत्रकारले किमेलको कार्यक्रम पुनः सुरु हुने विषयमा सोधेको प्रश्नमा उनले कुनै टिप्पणी गरेनन्।

यस घटनापछि अमेरिकाको सबैभन्दा ठूलो एबीसी सम्बद्ध समूह सिनक्लेयरले ‘जिमी किमेल लाइभ’ को सट्टामा समाचार कार्यक्रम प्रसारण गर्ने बताएको छ। उसले ‘कार्यक्रमको सम्भावित पुनरागमनबारे एबीसीसँग छलफल जारी रहेको’ बताएको छ। 

सिनक्लेयरले यसअघि नै किमेलको टिप्पणीलाई ‘हाम्रो देशको लागि एक महत्त्वपूर्ण क्षणमा अनुपयुक्त र गहिरो रूपमा असंवेदनशील’ भनेको थियो। यस्तै, अर्को ठूलो टेलिभिजन स्टेशनको मालिक नेक्स्टार मिडियाले पनि ‘निकट भविष्यमा किमेलको कार्यक्रम प्रसारण नगर्ने’ बताएको थियो।

यसैबीच, आलोचकहरूले एबीसीको निलम्बनको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रताको हनन र सेन्सरसिप भनेर आलोचना गरेका थिए। किमेलले सन् २००३ देखि यो कार्यक्रम चलाइरहेका छन् र उनले चार पटक ओस्कार समारोह पनि सञ्चालन गरिसकेका छन्। हालसम्म उनले निलम्बन वा त्यसपछिको अवस्थाबारे कुनै सार्वजनिक टिप्पणी गरेका छैनन्।

विवादको सुरुवात सेप्टेम्बर १५ मा किमेलको एक मोनोलोगबाट भएको थियो, जसमा उनले ‘मागा ग्याङ’  ले चार्ली कर्कको हत्या गर्ने व्यक्तिलाई आफ्ना मानिसबाहेक अरू देखाउन खोजिरहेको र यसबाट राजनीतिक फाइदा उठाउन खोजेको बताएका थिए। उनले ट्रम्पको प्रतिक्रियाको पनि मजाक उडाएका थिए। 

ट्रम्पद्वारा नियुक्त प्रसारण नियामक फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) का अध्यक्ष ब्रेन्डन कारले किमेलको टिप्पणीका कारण एबीसी र यसको मूल कम्पनी डिज्नीविरुद्ध कारबाही गर्ने धम्की दिएका थिए। त्यसको केही घण्टापछि नै नेक्स्टारले किमेलको कार्यक्रम प्रसारण नगर्ने घोषणा गरेको थियो। पछि सिनक्लेयरले पनि सोही कदम चालेको थियो र एबीसीले किमेलको कार्यक्रमलाई ‘अनिश्चित कालका लागि’ निलम्बन गरेको थियो। एबीसीले किमेलबाट माफी र कर्कको गैरनाफामूलक संस्था ‘टर्निङ पोइन्ट युएसए’ मा दानको पनि माग गरेको थियो।

किमेलको निलम्बनको निर्णयपछि क्यालिफोर्नियामा विरोध प्रदर्शनहरू भएका थिए। लेखक र कलाकार संघ, कानुन निर्माता र अमेरिकन सिभिल लिबर्टीज युनियन (एसीएलयू) ले पनि निलम्बनको आलोचना गर्दै यसले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको बताएका थिए। जोन स्टुअर्ट, जोन ओलिभर, स्टेफेन कोलबर्ट, बेन स्टिलर, जेनिफर एनिस्टन, मेरिल स्ट्रिप र रोबर्ट डे निरो जस्ता सयौँ हलिउडका सेलिब्रेटीहरूले पनि किमेलको समर्थनमा हस्ताक्षर गरेका थिए। 

उनीहरूले यस निलम्बनलाई ‘हाम्रो राष्ट्रमा अभिव्यक्ति स्वतन्त्रताको लागि एक अँध्यारो क्षण’ भनेका छन्। केही आलोचकहरूले डिज्नीको यो निर्णयविरुद्ध डिज्नी+, हुलु र अन्य डिज्नीको स्वामित्वमा रहेका सेवाहरू रद्द गर्न पनि आह्वान गरेका छन्।