आगामी कात्तिकको ७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मैझारो’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारहरू धिरज मगर, उपासना सिंह ठकुरी र दिया पुनको त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ । इलाममा खिचिएको यो फिल्मको टिजर लोभलाग्दो छ । पृष्ठभूमिमा फिल्मको शीर्ष गीत समावेश गरिएको छ, जुन कर्णप्रिय छ ।

गाउँले परिवेशमा देखिएका धिरज, इलामको चिया बगानमा चिया टिप्न डोको बोकेकी मिरुना र उनले बोलेका संवादहरू मीठा छन् । टिजर हेर्दा मिरुनासँग आकर्षित भएपनि कुनै वाध्यताले धिरज दिया पुनसँग नजिक भएको देखाइएको छ । विल्सन विक्रम राइको कथा र निर्देशनमा तयार भएको यो फिल्ममा किराँती मौलिक प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राइको संगीत, सौरभ लामाको डीओपी छ । आरआर फिल्मस्ले यो फिल्मको वितरण गर्दैछ ।

फिल्ममा दयाहाङ राई, वुद्दि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा लगायतका कलाकारहरूको पनि अभिनय छ ।