भारतीय र नेपाली फिल्मकर्मीको संयुक्त सहकार्यमा ठूलो बजेटको फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको छ। घटस्थापनाको अवसर पारेर निर्माण युनिटले विशेष समारोहमार्फत फिल्मको औपचारिक घोषणा गरेको हो।

बी एन्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन्। अक्स इन्टरनेशनल स्टुडियोजका अनुसार यसअघि विभिन्न अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका अनुभवी प्राविधिक टोली यसमा संलग्न हुने भएकाले फिल्मको प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ ।

हाल कलाकार छनोटको प्रक्रिया सुरु भएको छ भने फिल्मको प्रारम्भिक तयारी तीव्र पारिएको छ। कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो फिल्म सन् २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना बनाइएको छ।

सार्वजनिक गरिएको पहिलो पोस्टरमार्फत फिल्मलाई ‘ब्लडी लभ’ (रगतिलो प्रेम) भन्ने ट्यागलाइन दिइएको छ, जसले फिल्ममा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने संकेत दिन्छ। निर्माण पक्षका अनुसार प्रेमका लागि कसरी संघर्ष र युद्धसम्मको परिस्थिति सिर्जना हुन्छ भन्ने विषयवस्तु फिल्मको केन्द्रमा रहनेछ।