टंक बुढाथोकीको निर्देशनमा बनेको फिल्म ‘मन विनाको धन’ आगामी कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सोही मितिमा ‘जारी २’ पनि रिलिज हुने भएपछि दुई फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ।


‘जारी २’ रिलिज हुने भएपछि टंकको फिल्म स्थगित हुने चर्चा चले पनि निर्माणपक्षले भने फिल्म तोकिएको मितिमै आउने स्पष्ट पारेको छ। आज बिहान अभिनेता अशोक दर्जीले भिडियो सन्देशमार्फत कात्तिक २१ मा नै फिल्म रिलिज हुने घोषणा गर्दै दर्शकलाई माया र साथ दिन आग्रह गरेका छन्।


सोलो रिलिजको आशामा रहे पनि अब ‘मन विनाको धन’ ले ‘जारी २’ जस्तो लोकप्रिय फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। तर, विषयवस्तु बलियो भएकाले दर्शकले आफूहरूको फिल्मलाई पनि साथ दिने विश्वास निर्माणपक्षको छ।


यसअघि कात्तिक ६ गतेलाई रिलिज मिति तोके पनि ‘जारी २’ को निर्माणपक्षले सर्वसम्मत सल्लाहपछि प्रदर्शन मिति कात्तिक २१ गते सारेको हो। यसै महिना मात्र ९ वटा नेपाली फिल्म हलमा प्रदर्शनमा आउने तयारीमा छन्।