चलचित्र ‘कोशेढुंगा’को सोरठी गीत सार्वजनिक भएको छ । प्रदर्शनरत चलचित्र ‘कोशेढुंगा’को ‘जाने कहाँ होला’ बोलको गीत सार्वजनिक भएको हो ।

देशको समसामयिक विषयलाई केन्द्रमा राखेर तयार पारिएको गीतमा आशिष अविरल र सुशीला पाठकको स्वर छ । रमेश परियारको शब्दरचना रहेको गीतमा संगीत आशिष अविरलको स्वर छ ।

देशको आर्थिक अवस्था कमजोर हुँदा मुगलान जानुपर्ने बाध्यता रहेको तर कहाँ जाने भन्ने निश्चित नरहेको परिस्थितिलाई गीतमा उतारिएको छ । अनिश्चित जीवन र भविश्यको बारेमा चिन्ता गरेको गीतले मंहगिदै गएको बजार र रित्तो हुँदै गएको गोजीबीचको असामान्जस्यता गीतमा छ ।

गीतमा तिहार गीत समावेश छ, जसले नेपाली कल्चरलाई सर्लक्कै बोकेको छ । श्रवणीय लय र गीतले सिनेमाको कथा पनि बोल्छ ।

राम्रो वर्डअफ माउथ पाएको चलचित्र ‘कोशेढुंगा’ अहिले पनि विभिन्न हलमा प्रदर्शनरत छ ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहेको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’को निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का छन् । बाबु श्रेष्ठले छायांकन गरेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

यस चलचित्रको गीतमा खेम सेञ्चुरी, रिदम कँडेल र आशिष अविरलको संगीत छ ।