अस्कर अवार्डका लागि भारतबाट नीरज घायवान निर्देशित फिल्म ‘होमबाउन्ड’ सिफारिस भएको छ । अस्कर अवार्ड अन्तर्गत ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि भारतबाट आधिकारिकरुपमा होमबाउन्ड छनोट भएको हो ।

पीटीआईका अनुसार फिल्म फेडरेसन अफ इन्डियाले कोलकातामा छनोटको घोषणा गरेको हो । छनोट समितिका अध्यक्ष एन चन्द्रका अनुसार विभिन्न भाषाका २४ फिल्म छनोटको प्रतिस्पर्धामा थिए ।

‘होमबाउन्ड’ले आगामी अस्करमा विश्वका सयभन्दा धेरै देशबाट सिफारिस भएका फिल्मसँग मनोनयनको लागि प्रतिस्पर्धा गर्नेछ ।

निर्माता करण जोहरको निर्माण कम्पनी धर्मा प्रोडक्सनले यस अवसरमा ट्वीट गर्दै खुसी व्यक्त गरेको छ ।

ट्वीटमा लेखिएको थियो, ‘हामीलाई यो घोषणा गर्न पाउँदा गर्व छ कि होमबाउन्ड ९८ औं एकेडेमी अवार्डमा सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्मको लागि भारतको आधिकारिक प्रवेश हो ।’

करण जोहरले निर्माण गरेको फिल्ममा इशान खट्टर, विशाल जेठवा र जान्हवी कपूरले अभिनय गरेका छन् ।

भारतबाट यस विधामा तीन भारतीय फिल्म ’मदर इन्डिया’, ’सलाम बम्बे’ र ’लगान’ मनोनित भइसकेका छन् । सन् २०२३ मा निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ सर्वश्रेष्ठ मौलिक गीत विधामा अस्कर जितेको थियो ।