नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाहीले बलिउड यात्रा तय गरेका छन् । उनी बलिउड स्टार सलमान खानसँग स्क्रिन सेयर गर्दै बलिउड यात्रा गर्ने तय भएको हो ।


सलमानको फिल्म ‘ब्याटल अफ गल्वान’मा अनुपले अभिनय गर्नेछन् । सलमान खान फिल्मसको ब्यानरमा तयार हुन लागेको यो वार ड्रामामा सलमानसँगै अनुप प्रमुख भूमिकामा हुनेछन् ।


सन् २०२० मा गलवान भ्यालीमा भारतीय र चिनियाँ सेनाबीच भएको युद्धको कथामा यो चलचित्र बन्न लागेको हो । फिल्मको पहिलो चरणको छायांकन भारत र चीनबीचको हिमाली बोर्डर लद्दाकमा सम्पन्न भएको छ । हालै अनुप छायांकन सकाएर नेपाल फर्केका छन् ।


यो फिल्मको दोस्रो छायांकन सेड्यूअल अक्टोबर नोभेम्बरको बीचमा मुम्बईमा हुने बताइएको छ। 


‘ब्याटल अफ गलवान’को प्रदर्शन मिति तय भइसकेको छैन । बलिउड फिल्ममा काम गर्न पाउँदा उत्साहित भएको शाहीले सामाजिक सञ्जालमार्फत बताएका छन् । यो फिल्मलाई अपुर्व लाखियाले निर्देश गर्दैछन् ।