दशैंको फूलपाती असोज १३ गते प्रदर्शन हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिकी ८० पर्दामा लाग्ने भएको छ । फिल्म टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया लगायतका राज्यका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाजमा प्रदर्शन हुनेछ।


‘हरिबहादुरको जुत्ता’लाई अमेरिकामा रिलिज गर्दै आहान पौडेलले फिल्म वितरणमा डेब्यू गर्ने भएका छन् । उनी चर्चित नेपाली फिल्म वितरक उज्वल पौडेलका छोरा हुन् । पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका उनले हरिवंश आचार्य स्टारर फिल्मलाई त्यहाँको बक्सअफिसमा रिलिज गर्न लागेको विज्ञप्ति मार्फत जनाइएको छ । 

उनको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० पर्दामा फिल्म रिलिज गर्न लागेको जनाइएको छ ।

टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका शहर र राज्यमा फिल्म लाग्नेछ ।