जेन-जी आन्दोलनमा क्षति पुगेका फिल्म हललाई क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरिएको छ । 

चलचित्र हलका व्यवसायीलाई आवश्यक क्षतिपूर्ति प्रदान गरि पुनर्स्थापित गर्न चलचित्र निर्माता संघले सरकारलाई आग्रह गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नवल खड्काले चलचित्र उद्योगलाई संरक्षण गर्न आग्रह गरे । चलचित्र प्रदर्शकलाई संक्रमणकालिन अवस्थामा आत्मबल बलियो बनाएर पुननिर्माणमा लाग्न पनि संघले आग्रह गरेको छ ।

संघले सिनेमाघर मनोरञ्जनका केन्द्र मात्र नभई राष्ट्रिय संस्कृतिको संरक्षण, संवर्धन र चलचित्र बजारको विस्तार गर्ने महत्वपूर्ण आधारशिला रहेको जनाएको छ ।


विज्ञप्तिमा भनिएको छ, ‘यस्ता सांस्कृतिक संरचनामाथि गरिएको आगजानी र तोडफोड लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लंघन हो ।’

चलचित्र संघका अनुसार जेन-जी आन्दोलनको क्रममा भएको आगजानी र तोडफोडबाट चार हलमा १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।