उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘जारी २’ असोजको ३ गतेबाट रिलिज नहुने पक्का भएको छ । यो वर्षकै प्रतीक्षित फिल्म जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण निर्धारित मितिमा रिलिज नहुने पक्का भएको हो । 


असोज ३ गते रिलिज नहुने पक्का भएको फिल्मको नयाँ मिति भने तोकिएको छैन । तर, यसको निर्माणपक्ष कुन मितिमा फिल्म रिलिज गर्ने भन्ने विषयमा छलफलमा नै छ । पछिल्लो समय नेपालमा मात्र नभएर, विदेशको क्यालेन्डरसम्म मिलाउनुपर्ने भएकाले नयाँ प्रदर्शन मिति तय गर्न केही समस्या भएको हो । 


बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्ले मिलेर बनाएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतका कलाकारहरूको अभिनय छ ।


‘जारी २’को प्रदर्शन मिति कात्तिकमा तोक्ने संभावना रहेको वुझिएको छ । किनकी, यसको निर्माणपक्षले फिल्म ‘कबड्डी ५’को पनि छायांकन सुरु गर्ने तयारी गरिरहेको छ । अर्कोतिर, ‘जारी २’को ट्रेलर बाहेकका अन्य प्रचार सामाग्री सार्वजनिक भइसकेको छ ।


यसैले, धेरै पछाडि रिलिज मिति तय गर्ने सोचमा यसका निर्माता छैनन् । भोलिसम्म फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक हुने वुझिएको छ ।