आज सोमबारदेखि फिल्म हल खुल्ला हुने भएपछि फिल्म ‘हरिबहादुरको जुत्ता’ आगामी फूलपातीमै रिलिज हुने भएको छ । जेनजी आन्दोलनका कारण यो फिल्मको प्रदर्शन यसअघि अन्यौलमा थियो।  तर, आजबाट सम्पूर्ण हल खुला गरिएससंगै निर्माण पक्षले फिल्मको रिलिज फूलपातीमै गरिने बताएको हो । 


‘हरिबहादुरको जुत्ता’ फूलपातीमै रिलिज गर्ने हाम्रो तयारी यथावत् छ’, निर्माता सरोज वलीले भने, ‘हामीले फिल्मको प्रचार प्रसार समेत रोकेका छैनौँ ।’ 


दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् । 


कृष्ण बहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन रहेको फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत छ । कमेडी र भावनात्मक विषयवस्तु प्रस्तुत गर्नेछ ।