जेनजी प्रदर्शनमा तोडफोड र आगजनी हुँदा फिल्म हलमा पनि ठूलो नोक्सानी भएको छ । नेपाल चलचित्र संघका अनुसार, एउटा हल पूर्ण रुपमा जलेर ध्वस्त भएको छ भने चारवटा हलमा तोडफोड र आगजनी भएको हो।  


उक्त आन्दोलनको क्रममा विराटनगरस्थित भाटभटेनी सपिङ मलमा आगजनी हुँदा त्यहाँ रहेको देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सको हल पूर्ण रुपमा जलेको छ।  उक्त हलबाट १५ करोड क्षति भएको छ । 


यता, बुटवल र भक्तपुरको भाटभटेनीको क्यूएफएक्स हलको टिकट काउन्टर र नयाँ बसपार्कस्थित ल्होत्से मलको बाहिर रहेको आइएनआई सिनेमाजको टिकट काउन्टरमा आगजनी र तोडफोड भएको हो । बताइएअनुसार, सो मलमा भएको आगजनीका कारण हलको उपकरणमा समेत असर परेको छ । आन्दोलनको क्रममा प्रदर्शनकारीले काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलमा पनि तोडफोड गरेका थिए । 


संघले बताएअनुसार, ५ हलमा गरी १७ करोड बराबरको क्षति भएको छ । जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरका हलहरु ६ दिनदेखि बन्द छन् । बन्द भएका हलहरु अब कहिलेबाट खुल्छन् भन्ने कुरा अझैपनि अन्यौलमा रहेको छ।