चर्चित भारतीय अभिनेत्री तथा राजनीतिज्ञ स्मृति इरानी आफ्नो लोकप्रिय टेलिभिजन धारावाहिक ‘क्योंकि सास भी कभी बहू थी’ को दोस्रो सिजनमार्फत पुनः पर्दामा फर्कने चर्चामा छिन्।
टेलिभिजन उद्योगबाट राजनीति र त्यसपछि पुन: टेलिभिजनमा फर्किएकी इरानीले आफ्नो करियरका बारेमा सोहा अली खानको कार्यक्रम 'अल अबाउट हर' मा खुलेर कुरा गरेकी छन्।
स्मृति इरानीले आफ्नो करियरको सुरुवाती दिनहरूमा धेरै संघर्ष गर्नुपरेको बताइन्। उनले मिस इन्डियाको प्रतिस्पर्धामा भाग लिनका लागि आफ्ना बुबाबाट १ लाख भारु ऋण लिएकी थिइन्।
त्यसबापत उनले एक वर्षभित्र पैसा फिर्ता गर्न नसके बुबाले रोजेको केटासँग विवाह गर्ने सर्त स्वीकार गरेकी थिइन्। उनले भनिन्, ‘मैले ब्याजसहित पैसा फिर्ता गर्नुपर्ने थियो, यदि गर्न सकिनँ भने बुबाले मन पराएको केटासँग मेरो विवाह गरिदिनुहुन्थ्यो।’
राजनीतिमा प्रवेश गर्दा आफ्नो करियरमा नोक्सान भएको बताउँदै इरानीले भनिन्, ‘मानिसहरूले करियरको अन्त्यमा राजनीतिमा आउँछन् भन्ने सोच्छन्, तर म त करियरको सुरुवातमा नै राजनीतिमा आएँ। यसकारण मैले यहाँ धेरै मेहनत गर्नुपर्यो।’
उनलाई एकता कपूरको चर्चित धारावाहिक ‘क्योंकि सास भी कभी बहू थी’ मा ‘तुलसी’ को भूमिका मिल्यो। यो धारावाहिक लगभग ८ वर्षसम्म चलेको थियो।
अभिनयमा सफलता हासिल गरेपछि स्मृति इरानीले सन् २००६ मा निर्माताको रूपमा पनि काम गरिन्। उनले ‘थोडी सी जमीन थोड़ा सा आसमान’ र ‘विरुध’ जस्ता धारावाहिकहरू निर्माण गरिन्। उनले ‘मेरे अपने’ नामक अर्को धारावाहिक पनि निर्माण गरिन्, जसमा विनोद खन्ना मुख्य भूमिकामा थिए।
राजनीतिमा सक्रिय भएपछि इरानी टेलिभिजनबाट पूर्ण रूपमा टाढा भइन्। उनी भारत सरकारको मानव संसाधन विकास मन्त्री, कपडा मन्त्री र सूचना तथा प्रसारण राज्यमन्त्री (स्वतन्त्र प्रभार) जस्ता महत्त्वपूर्ण पदमा कार्यरत रहिन्।
२५ वर्षपछि ‘तुलसी’ को भूमिकामा उनको पुनरागमनको चर्चाले उनका प्रशंसकहरू उत्साहित भएका छन्।