निर्माता रोहित अधिकारीले ‘माइतीघर’ चलचित्रको प्रचार सामग्रीमा नकारात्मक कमेन्ट लेख्नेविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका छन्।

उनले मंगलबार भोटाहिटीस्थित साइबर ब्युरो पुगेर ‘माइतीघर’ बारे सामाजिक सञ्जालमा असभ्य र अभद्र कमेन्ट गर्नेहरूविरूद्ध निवेदन दर्ता गराएका हुन्।


फेसबुक आइडीको स्क्रिनसटको फोटोकपीसहित २०÷२२ जना प्रयोगकर्ताविरूद्ध निवेदन दिएको उनले बताएका छन् । अधिकारीले सोमबार नै सामाजिक सञ्जालमा अभद्र कमेन्ट लेख्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका थिए ।


दसैंमा रिलिज हुने चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा एकअर्को चलचित्रका निर्माता र समर्थकहरूबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलिरहेको छ । ‘बलिदान’ का निर्माता तथा निर्देशक सन्तोष सेन र ‘माइतीघर’ का निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमा आक्रोशपूर्ण अभिव्यक्ति व्यक्त गरिरहेका छन्। दुवै चलचित्र दसैंमा रिलिज हुँदैछन् । यसले गर्दा एकअर्काका समर्थक जुधिरहेका छन् ।


‘माइतीघर’ चलचित्रको प्रचार सामग्रीमा लेख्ने गरिएका नकारात्मक कमेन्टको विषयमा सामाजिक सञ्जालमा लेख्दा निर्माता दीपकराज गिरी र सन्तोष सेनबीच जुहारी चलिरहेको छ । दुवैबीच अघिल्लो वर्ष पनि सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलेको थियो । त्यसबेला दीपकराजको ‘छक्का पञ्जा ५’ आएको थियो । सन्तोष सेनले भने विराज भट्टको ‘१२ गाउँ’ को प्रचार गरेका थिए । विराजकै छोरा समीर ‘बलिदान’ को मुख्य कलाकार हुन् ।