निर्देशक हिमाल न्यौपाने डेब्युमै असफल बनेका छन् । ‘पूर्णबहादुरको सारंगी’ का अभिनेता विजय बराललाई लिएर उनले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ ले दर्शक र शो गुमाउँदै गएको छ ।
विजय बराल, मिरुना मगर, केकी अधिकारीजस्ता चर्चित कलाकार भए पनि ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ ले अपेक्षित जादू देखाउन सकेन। ६ भदौमा ‘माग्ने राजा’ र ‘ताराहरू’ सँगै रिलिज भएको यो चलचित्रले १२ दिनसम्म बक्स अफिसमा मात्र एक करोड १० लाख ग्रस मात्र कमाएको छ।
निर्देशक न्यौपानेले न समीक्षक न त दर्शकको मन नै जित्न सके । ‘दर्शकलाई रुवाउँदा फिल्म चल्छ’ भन्ने भ्रममा निर्माण भएको ‘जनै हराएको मान्छे’ ले दर्शक आकर्षित गर्न असफल भएपछि निर्माताको लगानी डुब्ने निश्चित जस्तै छ ।
देशका केही सिनेमा हलमा चलचित्र चलिरहेको छ, तर घरेलु बजारझैँ डायस्पोराको हालत अझ खराब छ । ‘जनै हराएको मान्छे’ मा रहेका कलाकार विजय बरालको ‘पूर्णबहादुरको सारंगी’ ले (४६ करोड), उनकै अभिनय रहेको कबड्डी ४ ले (२१ करोड), नायिका मिरुना मगरको ‘जारी’ ले १७ करोड र ‘स्विटर’ ले ११ करोड० तथा केकी अधिकारीको ‘बोक्सीको घर’ चलचित्रले १० करोड कमाएका थिए । तर तीनैजना एउटै पर्दामा देखिँदा हल रित्तिनुले अब स्टार पावरले काम नगर्ने स्पष्ट गरेको छ ।
चलचित्र हेरेका दर्शकले अरुलाई सिफारिस नगरेको र नियोजित रोनाधोना गरेको भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने गरेको सिनेक्षेत्रमा चर्चा छ। त्यसैले अब प्रश्न उठ्न थालेको— ‘निरन्तर रुवाउने कथाले दर्शकलाई वाक्कदिक्क पारिसकेको हो ?’ कतिसम्म भने अहिले ‘जनै हराएको मान्छे’ होइन, वास्तवमै ‘दर्शक र हल हराएको’ चलचित्र भन्दै व्यंग्य गर्न थालिएको छ ।