साउनको २३ गते शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मोहर’ले चौथो सातासम्म आइपुग्दा ५ करोड ४२ लाख ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । 


शनिबार बेलुकी सार्वजनिक आँकडा अनुसार फिल्मले रिलिजको चौथो शनिबारसम्म आइपुग्दा ५ करोड ४२ लाख ग्रस कलेक्शन गरेको हो । वितरक करण श्रेष्ठ क्रेजीले फिल्मको व्यापार चौथो सातासम्म आइपुग्दा पनि सुखद रहेको भन्दै व्यापार अझै बढ्ने दाबी गरे । 


ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्मलाई फिल्म मेकर्स प्रा.लिका लागि चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । फिल्मले चौथो साताको शनिबार पनि दर्शकको राम्रो साथ पाएको थियो । 


यो फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ । 


फिल्मले दर्शकहरुको सुखद प्रतिक्रिया पाएको छ । यहीकारण, फिल्म बक्स अफिसमा ‘हिट’ भएको हो । 


चौथो सातामा पनि हल पुगेका नायक पल शाहले आफ्नो खुशीको सीमा नै नरहेको तर्क गरे । उनले, फिल्मले ५१ दिन मनाउने विश्वास समेत गरेका छन् ।