नेपालको सबैभन्दा ठूलो धनराशि रु एक करोड पुरस्कार राखिएको दुई ‘रियालिटी शो’ को दोस्रो संस्करण ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’ को ‘ग्रयाण्ड  फिनाले’ अर्थात् अन्तिम प्रतिस्पर्धा आज सम्पन्न हुँदैछ ।


आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउन्डेशन अफ अमेरिका अनुसार आज ललितपुरको गोदावारीस्थित सन्राइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सो प्रतियोगिता सम्पन्न हुने भएको हो । 


कार्यक्रममा मेरो ‘भ्वाइस युनिर्भस’तर्फ छनोट भएका उत्कृष्ट छ प्रतियोगिको र ‘डान्स’तर्फको उत्कृष्ट छ प्रतियोगी सहभागी हुनेछन् । बत्तीस सत्रसम्म प्रसारण भइसकेको ‘भ्वाइस’ को पाँच उत्कृष्टमा सिक्किमबाट दीपराज राई, दार्जिलिङबाट वाङेगे शेर्पा, कतारबाट जुनु प्रसाई, जापानबाट प्रथम गुरुङ, हङकङबाट टपराज तामाङ र नेपालको झापाबाट प्रशान्त पोखरेलबीच अन्तिम प्रतिस्पर्धा हुँदैछ । 


त्यसैगरी मेरो ‘डान्स’ तर्फ सिक्किमबाट अमृता राई, हङ्कङबाट रिस्ता गुरुङ, नेपालबाट सुशना कोइराला, सीतु महर्जन, सुरज सिञ्जाली मगर र साजन पाख्रिनबीच अन्तिम प्रतिस्पर्धा हुनेछ । यी दुवै रियालिटी शोमा प्रमुख विजेताले रु एक करोड पाउने छन् भने उपविजेताले रु २५ लाख र तेस्रो हुनेले रु १० लाख पुरस्कार पाउनेछन् । चौथो, पाँचौँ र छैटौँले क्रमशः रु छ लाख रु पाँच लाख र रु चार लाख पाउनेछन् भने टप १० रु तीन लाख पाइसकेका छन् । 


तीन महिनासम्म चलेको प्रतियोगितामा संसारभर छरिएर रहेका नेपाली र नेपालभाषीको सहभागिता रहेको छ । “यो ‘रियालिटी सो’ को मुख्य उद्देश्य विश्वभर रहेका नेपालीहरूलाई सांस्कृतिक माध्यमबाट जोड्नु हो”, इन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले भने ।