भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको गीत ‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हासी हासी लजाउने’ सार्वजनिक भएको छ ।
टिकटक लगायत सामाजिक सञ्जालमा अत्याधिक रुचाइएको गीत दर्शक तथा श्रोताको माया र अत्यधिक मागपछि निर्माण टिमले गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ भर्सन ल्याएको हो ।
सार्वजनिक गीतमा समीक्षा अधिकारीको स्वर, एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द छ । गीतको मूल संस्करण ‘मनैमा सानुमाया’ सार्वजनिक भएपछि यसको "हासी हासी लजाउने" अंश टिकटकमा भाइरल भएको थियो । यही लोकप्रियतालाई ध्यानमा राख्दै निर्माण पक्षले फिमेल भर्सन बनाउने निर्णय गरेको हो ।
यसअघि ‘मनैमा सानुमाया’ को भिडियोमा भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथा मार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको थियो ।
फिमेल भर्सनको ‘हासी हासी लजाउने’को भिडियोमा चर्चित अभिनेत्री मिरुना मगर र दीपक रसाइलीको अभिनय देख्न सकिन्छ ।
विवेक रसाइलीको लेखन तथा निर्देशनमा तयार भएको भिडियोमा नेपाली-भुटानी समुदायको सांस्कृतिक परिवेशमा उनीहरुको प्रेम कथालाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरिएको छ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोका रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन् ।
गीतको फिमेल भर्सनले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ र युट्युबमा राम्रो भ्यूज पाइरहेको छ।