आज शुक्रबारदेखि तीन फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ शुक्रबारबाट प्रदर्शनमा आएका छन् । फरक विधा र स्वादका यी तीनवटै फिल्ममा स्थापित कलाकारहरुको अभिनय छ ।
तीन फिल्मध्ये ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’लाई हलहरुले बढी विश्वास गरेको देखिन्छ । यी दुई फिल्मलाई प्राप्त शो यसको प्रमाण हो । ‘माग्ने राजा’लाई देशव्यापी १४५ र ‘जनै हराएको मान्छे’लाई ११५ भन्दा बढी शो उपलब्ध हुँदा ‘ताराहरू’लाई भने जम्मा ३० शो छ । तर, शो संख्याले फिल्मको व्यापारिक भविष्य भने निर्धारण गर्दैन । त्यसका लागि ‘वर्ड अफ माउथ’ नै बलियो हुनुपर्छ ।
‘माग्ने राजा’ कलाकार केदार घिमिरे (माग्ने बुढा)ले मुख्य भूमिकामा अभिनय गरेको पहिलो फिल्म हो । ‘सुतेर उठेको पैसामा’ गीतका कारण चर्चामा रहेको फिल्ममा केदारसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई, सारदा गिरी लगायतको अभिनय छ । ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्मका निर्माता मुनाल घिमिरे हुन् । फिल्मले भूइँमान्छेको धनी हुने महत्त्वाकांक्षाको कथा भन्छ ।
बाबु-छोरा र दिदी-भाइबीचको सम्बन्धको कथामा आधारित ‘जनै हराएको मान्छे’मा भने विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा, रेअर राई, भावना खपाङ्गी मगर, सुमन थापा लगायतको अभिनय रहेको छ । हिमाल न्यौपानेको डेब्यु निर्देशनमा बनेको यो फिल्मलाई कमल न्यौपाने र विमल न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
त्यस्तै, ‘ताराहरू’लाई कलाकार आशान्त शर्माले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिल्म हो । यसमा आशान्त स्वयंको मुख्य भूमिका छ भने मेनुका प्रधान, कुन्दुन शाक्य, मिरा खड्का लगायतको पनि अभिनय छ । जीवनबाट निराश भएर एक किशोरले आत्महत्या गर्ने सोच बनाउँदा उसका साथीहरुले कसरी जीवन जिउन प्रेरित गर्छन् भन्ने कथामा फिल्म आधारित छ ।