फिल्म ‘ऐरी’को निर्माण कम्पनी मल्टी म्याट प्रा.लिले नायक धिरज मगरसँग १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैयाँको क्षतीपूर्ती माग गर्दै नेपाल चलचित्र निर्माता संघमा उजुरी दिएको छ । धिरजले फिल्मका लागि कागजी संझौता गरेर छायांकनमा समय नदिएका कारण निर्माण टिमलाई ठूलो क्षति पुगेको भन्दै मल्टी म्याटले उजुरी दिएको हो ।
धिरजसँग फिल्मको टिमले गतबर्षको चैत्र १९ गते कागजी संझौता गरेको थियो । तर, धिरजले गैर व्यवसायीक, गैर जिम्मेवार र नियतपूर्वक गरेको लापरबाहीपूर्ण व्यवहारका कारण कम्पनीलाई क्षति पुगेको उजुरी पत्रमा उल्लेख छ ।
उजुरीमा धिरजले संझौता बमोजिम अग्रिम भुक्तानी लिएको र फिल्मको छायांकनका लागि समय उपलब्ध गराउने बताएपनि निर्माण टिमलाई सुटिङ स्थलमा महिनासम्म पर्खाएको उल्लेख गरिएको छ ।
मल्टीम्याटले निर्माताको लाखौं रुपैयाँ निर्माणको क्रममा र करोडौं रुपैयाँ फिल्म परियोजनाका क्रममा क्षति पुर्याएको भन्दै धिरजसँग यति ठूलो रकम क्षतीपुर्तीको माग गरेको हो । मल्टी म्याट प्रा.लिका संचालक कमल बहादुर आलेले यो उजुरी दिएका हुन् ।
अब, निर्माता संघले यो उजुरीलाई कसरी किनारा लगाउने हो त्यो हेर्न बाँकी छ । प्रदीप खड्का, धिरज मगर, सोनम तोप्देन लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको यो फिल्मको केही दृश्यको छायांकन ढोरपाटनमा भइसकेको छ । अझै फिल्मको साढे २ महिनाको छायांकन बाँकी रहेको वुझिएको छ ।