अभिनेत्री स्वस्तिमा खड्का फिल्म क्षेत्रमा प्रवेश गरेको दश वर्ष पुरा भएको छ । फिल्म ‘होस्टेल रिटन्र्स’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी स्वस्तिमा आजको दिनमा सर्वाधिक व्यस्त र चलेकी नायिका हुन् । १० वर्षको करिअर यात्रामा स्वस्तिमाले आफूलाई अभिनयमा समेत अब्बल साबित गरिसकेकी छिन् । फिल्म ‘बुलबुल’बाट उठेको उनको करिअर आजका दिनसम्म आइपुग्दा सफलताका साथ अगाडि बढिरहेको छ ।
फिल्म क्षेत्रमा १० वर्ष बिताएकी स्वस्तिमाले आज सामाजिक सञ्जालमा आफ्ना भावना व्यक्त गरेकी छिन् ।
उनले लेखेकी छिन्–‘म प्रायः जीवनलाई पछाडि फर्किएर हेर्दिनँ । यसले कहिलेकाही विचलित बनाउँछ । ओहो, यति धेरै गरिसकेँ भन्ने भावले अहंकारी बनाउँछ । हत्तेरी, केही गर्नै सकिनँ भन्ने अनुभूतिले वैराग्यको बाटोमा हिँडाउँछ । म अहंकारी र वैरागी दुवै हुन चाहन्नँ । त्यसैले यत्तीका वर्ष म पैतालाका छाप नहेरी अघिअघि हिँडिरहेँ । तर, पर्दाको जीवनले १० वर्षको खुड्किलो उक्लिएपछि मलाई एकपटक टक्क अडिएर पछाडि फर्किन मन लाग्यो । फर्किएर हेर्दा मलाई आनन्द लाग्यो ।’
स्वस्तिमाले फिल्म क्षेत्रमा आफू केही नपढी सिनेमाको आएको बताउँदै काम र अग्रजहरूले मार्गदर्शन दिँदा सिनेमाको कखरा सिकेको उल्लेख गरेकी छिन् । आफू अहिले वर्णमाला सिकिरहेको बताउँदै स्वस्तिमाले अब आउने अनेकौं दशकमा यसले परिपक्व बनाउने विश्वास समेत व्यक्त गरेकी छिन् । उनी अगाडि लेख्छिन्–‘मलाई स्विकार्नु भएकोमा धन्यवाद । मलाई नाई भन्नु भएकोमा धन्यवाद । ममा सन्देह गर्नु भएकोमा धन्यवाद । म लड्दा उठाएर हिँडाइदिनु भएकोमा धन्यवाद ।’