गएको केही दिनयता साउथ सुपरस्टार धनुष र बलिउड अभिनेत्री मृणाल ठाकुरको अफेयरको चर्चा चलिरहेको छ । 


अजय देवगण र मृणालको फिल्म ‘सन अफ सरदार २’ को स्क्रिनिङमा समेत धनुष देखिएका थिए । उनै अभिनेत्रीले धनुषसँगको आफ्नो सम्बन्धबारे बोलेकी छिन् । मृणालले हालै ओन्ली कलिउडलाई दिएको अन्तर्वार्तामा धनुषको बारेमा भनेकी थिइन्, ‘धनुष मेरो असल साथी मात्र हो । मलाई थाहा छ कि हामी एकसाथ भएको भनेर धेरै प्रकारका समाचारहरू फैलाइएको छ । मैले जब ती समाचारहरू देखँे, मलाई फनी लागे ।’ 


‘सन अफ सरदार २’ को स्क्रिनिङमा धनुषको उपस्थितिले दुईबिच डेटिङको चर्चा बढाएको थियो । ‘धनुष सन अफ सरदार २ को स्क्रिनिङमा आएका थिए, कसैले पनि यसलाई गलत तरिकाले नबुझ्नुहोला । अजय देवगनले उनलाई निम्तो दिएका थिए,’ अझ अगाडि उनले भनेकी थिइन् । 


धनुषले २००४ मा साउथका चर्चित अभिनेता जनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तसँग बिहे गरेका थिए । यो विवाहबाट यी जोडीका दुई छोरा छन् । २०२२ मा धनुष र ऐश्वर्याले सम्बन्ध विच्छेदको घोषणा गरे । २०२४ मा आधिकारिक रूपमा दुईको सम्बन्ध विच्छेद भयो । धनुष चाँडै नै साउथ फिल्म इडली कडाई र हिन्दी फिल्म तेरे इश्कमा देखिँदैछन् । 


सन अफ सरदार २ पछि मृणाल ठाकुर ‘जवानी तो इश्क होना है’, ‘तुम हो तो’ र ‘पूजा मेरी जान’ जस्ता फिल्महरूमा देखिनेछिन् । धनुषभन्दा पहिले मृणालको नाम चर्चित गायक र र्‍यापर बादशाह र अभिनेता सिद्धान्त चतुर्वेदीसँग जोडिएको थियो ।