बलिउड अभिनेता शाहरुख खानले शनिबार सामाजिक सञ्जाल एक्समा #AskSRK सेसन गरेका थिए। यस क्रममा फ्यान र प्रयोगकर्ताहरूले गरेका धेरै प्रश्नहरूको उनले रमाइलो तरिकामा जवाफ दिए।
सेसनमा एक प्रयोगकर्ताले शाहरुखलाई फिल्मबाट अवकाश लिन सुझाव दिएका थिए। सो प्रयोगकर्ताले लेखेका थिए, ‘भाइ, अब उमेर भइसक्यो, अवकाश लिनुहोस्। अरू नयाँ पुस्तालाई मौका दिनुहोस्।’
यसमा शाहरुखले ठट्यौली शैलीमा जवाफ फर्काउँदै भने। ‘भाइ, जब तिम्रा प्रश्नहरूको बचपना हराउँछ, तब केही राम्रो सोध। त्यतिन्जेलसम्म कृपया अस्थायी अवकाशमा बस।’
नेशनल अवार्डप्रति खुशी
सेसनमा शाहरुखले हालै प्राप्त गरेको राष्ट्रिय फिल्म पुरस्कारबारे पनि प्रतिक्रिया दिए। उनले फिल्म ‘जवान’ का लागि सर्वश्रेष्ठ अभिनेता अवार्ड जितेका हुन्।
यो अवार्ड उनले फिल्म ‘टुवेल्थ फेल’ का अभिनेता विक्रान्त मेसीसँग साझा गरेका छन्। शाहरुखले भने, “मलाई लाग्छ म राष्ट्रको राजा हुँ। यो ठुलो सम्मान हो, अब अझ बढी मेहनत गर्नुपर्छ।”
छोरी सुहानासँग नयाँ फिल्म ‘किङ’
शाहरुखले आफ्नो नयाँ फिल्म ‘किङ’ को अपडेट पनि सेसनमा फ्यानहरूसँग बाँडे। सिद्धार्थ आनन्दको निर्देशनमा बन्दै गरेको यस फिल्ममा उनकी छोरी सुहाना खानले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैछिन्।
छायांकनको प्रगतिबारे सोधिएको प्रश्नमा शाहरुखले भने, ‘राम्रो छायाङ्कन भयो, चाँडै फेरि सुरु हुनेछ। इन्शा अल्लाह छिट्टै पूरा हुन्छ। सिद्धार्थ आनन्द यसलाई पूरा गर्न धेरै मेहनत गरिरहेका छन्।’